विना वजनका मान्छेहरू

बादलको देशमा

बादलकै मान्छेहरू

टेक्छन् बतासे खुट्टाहरू र

सरिरहन्छन् कहिले यता

कहिले उता

 

तिनका हलुका वजनहरू

तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर

मातृशक्तितिर

ती छुट्दै जान्छन्

उठ्दै जान्छन्

भ्रमको अस्थिर आयामहरूमा र

फेरिरहन्छन् बादले-आकृतिहरू

 

कहिले काला हुन्छन्

घनघोर काला

कहिले सेता

रूवाझैँ हलुका

धेरैजसो ती गहुँगोरा हुन्छन्

बीचका

न यताका न उताका

 

बादलको देशमा

बादलकै मान्छेहरू

घामलाई छेकिदिन्छन् ती

पानीलाई रोकिदिन्छन्

तन्किरहने र खुम्चिरहने आकार बोकेर

एकान्तमा कानेखुसी गर्छन्

बतासे ऋतुझैँ सरिरहन्छन्

कहिले यता, कहिले उता

विना वजनका मान्छेहरू ।

छोरा अचेल तँ किताब समातेको देख्दिन, पढ्नु पर्दैन ।

बुवा अचेल म जिन्दगी पढ्दैछु। यो भन्दा ठूलो किताब के हुन सक्छ र?