आकांक्षाको फेदीबाट


 

आकांक्षाको फेदीबाट तिमी

चिन्तनको चौतारीमा सुस्ताउँदै

धूलोका होली खेल्दै-पखाल्दै

आफै बन्नेछन् बाटाहरू

आफै थपिनेछन् सिँढीहरू

 

अस्तित्वको विस्केट बोकेर तिमी

बन्धनहरू फुकाल्दै आऊ

नसके चुँढाऊ बरू

तिम्रो आवाजको रेटाइले

रेटिने छ स्वर-सारङ्गी

 

प्रमिथसको आगो पनि त

विद्युत् भएर बलेको छ धप्प-धप्प

तिमी सल्कँदै जाऊ, फैलँदै जाऊ

एक झिल्कोबाट सहस्र बग्नेछन् किरणधाराहरू

 

सुदूरको गौँडाबाट सुरू भएको तिम्रो यात्रा

ठोकिँदै कदम-कदममा ढुङ्गाहरूसँग

चिप्लिँदै ओसका लेउहरूसँग

साहसको झण्डा बोकेर

उक्लिँदै जाऊ लेकका पहराहरू

बोकेर काँधमा सफलताका डिलहरू

 

समय समय हो

ओखती हो

तिम्रा दु:ख र घाउहरूमा

 

आकांक्षाको फेदीबाट तिमी

शिखरको सुदीर्घ यात्रामा निक्ल।