निस्तब्ध धुनहरू


 

सम्झिरहन्छु,

बाल्यकालको उमङ्गमा

मेरो जीवनको धून

सधैँसधैँ नयाँ बिहानी भएर बज्थ्यो

 

मन्दिरको घण्टासँगै

म चराको गान सुन्थेँ-रमाउँथे

मालश्रीको लय उनेर

म आफ्नो फाटेको मन सिलाउँथे

अभावग्रस्त मेरो बालचञ्चलतामा

हरबिहान

एउटा आरोहणको शुभारम्भ हुन्थ्यो

मङ्गलधुन बज्ने गर्थ्यो

 

निस्तब्ध भएको छु म हिजोआज

मेरा छोरा-छोरीको रमाइलो बाल-संसारमा

संकटपूर्ण धुनको पीडा बजिरहन्छ

 

ती धुनहरू

सुन्छु

मेरो दाहिने आँखा र

डुब्दै गरेको जहाजका पालहरूजस्तै

रगतको महासागरमा फर्फराइरहन्छन्

मेरा स्नेहिल स्पर्शहरू

किन यति चोटिला भएर फर्किरहन्छन् मतिरै

किन बज्छन् यति नमिठोसँग यी धुनहरू

किन म देख्छु

छन्छनाउने चुराका लयबद्ध ध्वनिहरूमा

जीवनकै सर्वाधिक उजाड वसन्त ?

 

 

 

हिजोआज

डिको नभएका हरफहरूझैँ

बिथोलिइरहेछन् मेरा पङ्तिहरू

के यो युगमा

म सुन्न पाउँदिन फेरि

मेरो बाल्यकालजस्तै सुन्दर

मेरो जीवनको धुन एकचोटि ?