भरोसा


                                 

 

सकिँदोरहेनछ

डोरीविना कुनै हिमाल चढ्न

 

यी चिप्लिरहेका पाइलाहरू

यी फुस्किरहेका हातहरू

यी बिलाइरहेका अक्षरहरू

 

ए! अगाडि जाने आरोही !

सक्छौ तिमी

यो आउने युगका लागि

एउटा बलियो डोरी बाटेर जान ?

 

याद राख

सर्प नहोस् त्यो डोरी

नडसोस् त्यसले

पछ्याउनेहरूलाई !

 

सकिँदोरहेनछ

किलाविना कुनै डोरी अड्काउन

 

ए! डोरी बाटेर जाने आरोही !

सक्छौ तिमी पछ्याउनेहरूका निम्ति

एउटा बलियो किला ठोकेर जान ?

 

याद राख-

छेकबार नबनोस् त्यो किला

नरोकोस् त्यसले

अगाडी जानेहरूलाई !