खोलाको गीत


 

खोलाको गीत मन पर्दैन भन्थ्यौ

भन्थ्यौ मन पर्दैन

ती बिनसित्ती उफ्रिरहने छालहरू

फेरी आज

यो मर्दै गएको पानीमा

किन खोजिरहेछौ

आफ्नै ढुकढुकीझैँ प्यारो मानेर

ती वर्षौ पहिले बिलाएका छालहरू ?

 

म गति हुन चाहन्थे

तिमी नदी हुन चाहेनौ

बग्नै चाहेनौ त्यहाँदेखि यहाँसम्म

आफ्नै अनुहार हराएको

पोखरीमा

मलाई

जीवनको प्रतिबिम्व खोज्न लगायौ

 

अब म कुनै दौड जित्न चाहन्न

व्यर्थै नउभिए हुन्छ

यो सीमानामा

मेरा पाइलाहरू

खोजेर पनि भेटिनेछैनन्

शीतोष्ण यी आँखाका ढकनीभित्र

यस्तो विध्न ठिहीमा

अब म

कुनै छाल उमार्न सक्दिन

 

टक्क अडिएको छु म यतिखेर

ओरालोमा

औँलाका नङ्ग्राहरू गोडेर

बयली नखेल

ए मीठा सपनाहरू !

यो किनारभन्दा पारि

म कुनै यात्रा गर्न सक्दिन

 

खोलाको गीत मन पर्देन भन्थ्यौ

फेरि आज

यो मर्दै गएको पानीमा

किन पर्खिरहेछौ नयाँ धूनको आरम्भ ?