शब्दको खेतीमा

शब्दको खेतीमा

फट्याङ्ग्राहरू रमाउन थालेपछि

दानाहरू पोटिला हुनै पाउँदैनन्

 

किसानहरू

भोक चपाउँछन्

तिर्खा पिउँछन्

स्नेहले मिसाउँछन्

अनुभूतिको माटोमा

आफ्नै मुटुले बनाएका

संवेदनाका मलिला कम्पोष्टहरू

 

बाटो बिराएका फट्याङ्ग्राहरू

हरिया बालामा लोभिन्छन्

रङ्ग बदलेर पस्छन्

शब्दको खेतीमा

 

फट्याङ्ग्राहरू खेती गर्दैनन्

तिनीहरूसँग

कोदालो समाउने हात हुँदैन

गरा सम्याउने दाँत हुँदैन

केवल लामो सूँढ हुन्छ तिनीहरूको

 

फट्याङ्ग्राहरूलाई

दुधिलो धान असाध्यै मनपर्छ

 

सावधान !

फट्याङ्ग्राहरू

शब्दको खेतीमा पस्न नपाऊन्।