अक्षरका फूलहरू


 

म अक्षरलाई

बीऊजस्तै रोप्छु

यथार्थको खेतमा

अनुभूतिका मलजल दिएर

म अक्षरलाई

बिरुवाजस्तो उमार्छु

 

मेरा पीडा र खुसीहरू

घाम र पानीझैँ वरण गरेर

हुर्कदै जान्छन् ती

समयको पर्यावरणमा

खात-खात अक्षरका बीऊहरू

ज्यान भरिएर

शब्द- भावमा फैलन्छन्

सिङ्गा अनि सार्थक

तिनका बचाइमा

म आफ्नो सिर्जना देखेर रमाउँछु

 

मैले हुर्काएका शब्द-सन्तानहरू

साङ्ग होऊन्

पवित्र होऊन्

सुन्दर होऊन्

समयको कुरूपताभन्दा पर

म सुनौलो बस्ती बसाउन चाहन्छु

 

पीडा भुलेर गर्भको

हत्केलामा उठाउँछु- शब्द-थुँगाहरू

प्रत्यक थोपाहरूको सञ्चितिमा

अक्षरहरूको मेलमा

धर्ती अर्थपूर्ण भएर जग्मगाउँछ

आकाश सङ्गीतमय भएर गुञ्जन्छ

ए ! जीवनका उपासकहरू

मेरो कोखमाथि शङ्का गर्न छोडिदेऊ

यो शताब्दीको अँध्यारोलाई बिदा गर्न

अक्षरभन्दा उज्यालो उपहार

अर्को के हुन सक्छ ?