आकाश न हो गर्जन्छ
निसङ्कोच बर्साउँछ
आगोका फिलिङ्गाहरू
धर्ती निर्भय भई
स्वीकारिरहन्छिन्
सहिरहन्छिन् लाखौँका
चोट, तिरस्कार र हेपाइहरूलाई
धूलो
मैलो
र हिलो समेटेर छातीमाथि
पवित्र गङ्गाजल बगाइरहन्छिन्
फूल फुलाइरहन्छिन् मृदु-मुस्कान भरेर आँखामा
मान्छे उपभोग गरिरहन्छन्
जुकाझैँ चुसिरहन्छन्
न रित्तिनुको कुनै पीडाबोध
न कतै सकिनुको पश्चत्ताप
धर्ती
हाँसिरहन्छिन्
आत्मसन्तुष्टिको सगर्व हासोँ
प्रत्यकलाई अस्तित्व रोप्ने पृष्ठभूमि दिएकी छिन्
धर्तीको यो उदारतालाई देखेर
म आफ्नो मनलाई
धर्तीजस्तै चौडा बनाउन खोज्छु
माग अनुसार पूर्ति भएझैँ
मन अलिकति तन्किदिन्छ
तर
प्रत्यक कुनाहरूबाट
अनायासै सुरू भइदिन्छ सङ्कुचन
सहँदै-सहँदैन यसले
परायाका तिरस्कार र हेपाइलाई
जल्न थाल्छ प्रतिशोधको आगोले भित्रभित्रै
अविरल छुट्नथाल्छन् अपमानका धुवाँहरू
सम्झन्छु-
वचपनमा गुरूले भन्नुभएको थियो,
"नानी हो! मनलाई धर्तीजस्तै
चौडा बनाउनुपर्छ।"
दाँजेर हेर्छु धर्ती र मनलाई
एकछिन समानान्तर राखेर
अहँ,
धर्ती र मनमा त
आकाश-जमीनको फरक पो रहेछ !