धर्ती र मन


 

आकाश न हो गर्जन्छ

निसङ्कोच बर्साउँछ

आगोका फिलिङ्गाहरू

धर्ती निर्भय भई

स्वीकारिरहन्छिन्

सहिरहन्छिन् लाखौँका

चोट, तिरस्कार र हेपाइहरूलाई

 

धूलो

मैलो

र हिलो समेटेर छातीमाथि

पवित्र गङ्गाजल बगाइरहन्छिन्

फूल फुलाइरहन्छिन् मृदु-मुस्कान भरेर आँखामा

मान्छे उपभोग गरिरहन्छन्

जुकाझैँ चुसिरहन्छन्

 

न रित्तिनुको कुनै पीडाबोध

न कतै सकिनुको पश्चत्ताप

धर्ती

हाँसिरहन्छिन्

आत्मसन्तुष्टिको सगर्व हासोँ

प्रत्यकलाई अस्तित्व रोप्ने पृष्ठभूमि दिएकी छिन्

 

धर्तीको यो उदारतालाई देखेर

म आफ्नो मनलाई

धर्तीजस्तै चौडा बनाउन खोज्छु

माग अनुसार पूर्ति भएझैँ

मन अलिकति तन्किदिन्छ

 

तर

प्रत्यक कुनाहरूबाट

अनायासै सुरू भइदिन्छ सङ्कुचन

सहँदै-सहँदैन यसले

परायाका तिरस्कार र हेपाइलाई

जल्न थाल्छ प्रतिशोधको आगोले भित्रभित्रै

अविरल छुट्नथाल्छन् अपमानका धुवाँहरू

 

सम्झन्छु-

वचपनमा गुरूले भन्नुभएको थियो,

"नानी हो! मनलाई धर्तीजस्तै

चौडा बनाउनुपर्छ।"

 

दाँजेर हेर्छु धर्ती र मनलाई

एकछिन समानान्तर राखेर

अहँ,

धर्ती र मनमा त

आकाश-जमीनको फरक पो रहेछ !