घुमाउरा बाटाहरू


 

गाउँमा छँदा

उकाला-ओराला

तेर्सा-घुमाउरा बाटाहरू

बाटाका चुच्चे दर्शनढुङ्गाहरू

सबै-सबै मिलेर

हौस्याउँने गर्थे-सपनाको यात्रालाई

 

परिश्रम

पसिना

लक्ष्य

आकार बन्दैजान्थ्यो-जिन्दगीको भूगोलमा

 

एक जोडी परेवा

हरेक साँझको सिकुवामा

बास बस्न आउँथे

निर्धक्क निदाउँथे

सुन्दर सपना देख्थे

 

सल्लाह गर्थे- एउटा पक्की गुँड बनाउने

चल्लाहरू कोरल्ने

निस्तब्ध रातको मौन सपनाबाट

बिहानी शान्ति ब्यूँझाएर

सङ्केत गर्थे ती- दिनको यात्रालाई

 

एकदिन नयाँ भूगोल खोज्यो सपनाले

हिँड्न नसकिने बाटोबाट

तय भयो जिन्दगीको यात्रा

 

सहर

सभ्यता

सपना

सबै सबै मोलेर खिस्याइरहे- पाइलाका गतिलाई

खसिरहे सपनाहरू- आँखाका डिलबाट।