अनुभूति


 

हिँड्दा-हिँड्दै

दोबाटोहरूमा, चौबाटाहरूमा

जब पातहरू पहेँलिएर खस्दै आइपुग्छन् खुट्टानेर

मेरा उमेरहरू ठिङ्ग रुख भएर

उभिन्छन् सामुन्नेमा

 

खाल्टाखुल्टी परेका सडकमाझ

पैतालाहरू खिइएर

छोट्टिँदै जान्छ यात्रा

नाप्दै घडी-पलाहरू

मेरा आकांक्षाहरू खोपिल्टा पर्दै जान्छन्

त्यसबेला

हिँउ-केशहरूको सीमानेर उभिएर

जीवनको झण्डा गाड्छ समयले

 

मलाई जीवनको साँधमा

पर्खाल उभ्याउन मन छैन

भित्तामा किला-काँटाहरू ठोकेर

समयलाई अट्काउन मन छैन

निरन्तर बगिरहन चाहन्छु म

मलाई सुईहरूमा

स्थिर अस्तित्व खोज्न मन छैन

 

देखिरहेछु

मृत्युवरण गरिएका जीवनहरू

आँखाभरि मृत्यु बोकेर भागिरहेछन्

पाइलाभरि मृत्यु बोकेर दौडिरहेछन्

असुरक्षित सुरक्षाको खोजीमा

मृत्युले नै पहरा दिइरहेछ

 

मृत्युको पहरा तोडेर म

जीवनको उपहास बाँच्न चाहन्न

समयको लास बोकेर

मृत्यु-मय श्वास फेर्न चाहन्न।