भोक


 

उम्रिनै छाडे

काँक्रा-फर्सीहरू

करेसाबारीमा

 

बादल लागेको बिहानीमा

खोतलिरह्यो बीऊहरू

भँगेराले र

छोडाइरह्यो साँझमा

बियाँहरू

मुसाले

 

यसपालि पनि

अङ्कुराएका बीऊहरू

निमोठी-निमोठी खाँदैछन्

रातमा वनबिरालाहरू

 

बूढो लाहुरे

पेन्सिनको सियोले

सिउँदै छ भोक

युवक छोराहरू

सर्कसका घोडाहरूझैँ

हुइँकिरहेछन् जिन्दगीको सडकमा

 

अनौठा कुरा गर्छन्

विद्यार्थीहरू

शिक्षक टुलुटुलु हेरिरहन्छ-

मानौ तिनीहरू अन्तरिक्षमा प्रवेश गरिसके

धर्तीका कुरा गर्न

लाज मान्ने विद्यार्थी

निर्धक्क सुनाउँछ

बायो-केमिष्ट्रिको अन्तरङ्ग प्रेमकथा

 

करेसाबारीमा झरेका

अनौठा फल

अब्दुल कलामहरू

अनुसन्धान गरिरहेछन्

 

अझै पनि

भान्छाघरको बाहिर सपनाहरूको चिहान खोतलेर

रुँदैछिन् उसैगरी

हिरोसिमाकी घाइते वृद्धा ।