भ्रान्त खोज

 

 

यी पुस्तकजस्ता आँखाहरू

किन धरधरी च्यातिरहेछौ

बिउँझाउन खोजिरहेछौ फेरि

ती सम्हाल्नै नसकिने भयानक सपनाहरू ?

 

समय-टेबुलको वरिपरि

छरेर भावनाका पत्रहरू

रचाएर नयाँ संस्करणका मृत्यु-उत्सव

कस्तो युगको आव्हानमा

बटुलिरहेछौ

बारूदका बेहिसाब हस्ताक्षरहरू

बिर्स्यौ अथवा सम्झनै चाहेनौ ?

 

एकचोटि फर्केर हेर

आफ्नो युगको अनुहारमा

अझ विभत्स बन्दै गएका दागहरू

 

अधिनायक सपनाका ए दक्ष योद्धा !

 

आफ्नो पछाडि सिङ्गै पाठशआला छोडेर

कुन ज्ञानको खोजिमा लम्किरहेछौ तिमी ?

 

बत्तीहरू निभाएर

युग फेरिने भए

मानिसहरू गुफाबाट

कहिल्यै बाहिरिने थिएनन् !