वात्सल्य

जब तिम्रा परेलीहरूमा

आँसुका तरेली पर्न थाल्छन्

म आफ्नो मनको गहिराइ नाप्न थाल्छु

तिम्रो दुखाइमा रूपान्तरित हुँदै

मुटुको घाउ जाँच्न थाल्छु

 

यदाकदा

ठक्कर खाएर लड्दा

खस्रा व्यवधानहरूमा

तिम्रो कोमल स्पर्शको साटो

अहो !

अनगिन्ती पीडाहरू, चोटहरू

खस्नै खोज्छ मुटु चुँडिएर

नाप्न खोज्छु यो रातजस्तो भयावह

तिम्रा हरएक पलका कष्टप्रद भोगाइहरूलाई

 

बाङ्गा-टिङ्गा हरफहरूमा

जब कोरिन्छौ तिमी अस्थिर खुट्टाहरूले

बेचैन हुन्छ मेरो मन

मुटु निश् चिन्त थामिँदैन

हरवियोग विचलित हुन्छु

 

तिम्रो बालसुलभ चकचकेपनाले

मेरो सृष्टिमा हलचल ल्याउँछ

तिम्रा अमृतमय तोतेबोलीहरू

ठोक्किन्छन् कहिलेकाहीँ कसैका

खस्रा वाक्वाणहरूमा

म चकनाचुर हुन्छु पटक-पटक

प्रलय हुन खोज्छ

उकुसमुकुस भएर

अन्तरमनमा

तिमी चञ्चल छौ, चतुर छौ

एकाग्रता र जिद्धीपन पनि त कम छैन

म बिथोल्छु

 

तिमी भाव-शून्य

आफ्नैपनको खोजी गर्छौ

मेरो अनुशासल तिमीलाई लगाम हुनै सक्दैन

केवल कालो अक्षरमात्र

 

म आजित हुन्छु

आफै थाक्छु

तिमी थप्दै जान्छौ

खप्दै जान्छौ चोटहरू

तिमीले सिर्जेका पीडाजन्य खहरेहरूमा

म मेरो मुटु सुसाएको पाउँछु

तिमीलाई न्यानो स्पर्शले छाम्छु

आफ्नै मुटुको पर्याय पाउँछु।