हामी सानो छँदा

हामी सानो छँदा

लाल्टिन बाल्थ्यौं साँझमा

पढ्न बस्थ्यौँ मिलेर- वरिपरि

लाल्टिन भन्दा उज्याला थिए अक्षरहरू

हामी अक्षरको उज्यालोमा बाटो खोज्ने गर्थ्यौँ

 

हामी सानो छँदा

जून बाल्थ्यौँ आँखामा

उठाउँथ्यौँ रित्ता गाग्राहरू- जतनले

गाग्रा भन्दा रित्ता थिए अँधेरी खोँचहरू

खोँच भन्दा गहिरो थियो हाम्रो मन

हामी मनको कुवामा रित्ता गाग्राहरू उवाउँथ्यौँ

 

हामी सानो छँदा

हाम्रो यात्रा थियो

सम्भावनाका थुप्रै गोरेटाहरू थिए

 

आज कता रोकिए होलान्

हाम्रो यात्री-मन र

ती असंख्य बाटाहरू ?