कसरी मानून्


                                     

 

आफ्नै-आफ्नै गुण हुन्छ

काँढा र फूलको !

 

आफ्नो ठाँउबाट सरेपछि पनि

फूल !

फुलिदिनसक्छन् अरूको निम्ति

बरु सर्नुपरेपछि अन्यत्र

घोचिनुपर्दोरहेछ फूलहरूले

 

सोच्छन्-

काँढा नभएको भए

फूल

फूल हुने थिएन

जसरी रात नभएको भए

दिन

दिन हुने थिएन

 

फूलहरू फुल्छन्, फुलिरहन्छन्

काँढाहरू घोच्छन्, घोचिरहन्छन्

माया गर्न जानेको छ फूलले काँढालाई

आफै सहेर घाउहरू

अँगालिन्छन् काँढाहरू

फूलको पहरामा काँढा

झन् तिखार्छन् आफ्ना टुप्पाहरू

काँढालाई दोष दिँदैनन् फूलहरू

विद्रोह गर्दैनन्

बरू सुरक्षित ठान्छन्

काँढाका माझमा आफूलाई

 

लाग्छ कोपिलाहरू अब

विद्रोह गर्नेछन्

सर्न मान्नेछैनन् आफ्नो बारीबाट अन्यत्र

कसरी मानून् ?

कहिल्यै देख्न नपएपछि

आमाको ओठमा हाँसो !

 

साँच्चै फूल हुन त्यत्ति सजिलो कहाँ छ र !