दुई थोपा मुस्कान


 

ग्रहणपछिको चन्द्रमा

र मेरी दिदीको अनुहार

आपस्तमा मौन बोलिरहे

 

त्यो साँझ

गोधूलिमा हिँडेको एक लस्कर अँध्यारोले

बेस्सरी घेरिएकी थिइन् उनी

आफैलाई हराएको चन्द्रमा

उनकै हनुहारमा टाँसिएको थियो

उष्ण मरुभूमिको छट्पटीपछि

गरको माथिल्लो तला

सुनसान-सुनसान थियो

 

गति हराएको नदीजस्तो

उनले हाँस्न बिर्सिएकी थिइन्

बाटो बिराएको यात्रीजस्तो

उनी आफैभित्र अल्मलिएकी थिइन्

 

बिस्तारै-बिस्तारै

उनको अनुभूतिको आकाश

अलिकति ओठबाट खुल्यो

अलिकति आँखाबाट उदायो

पहाडजस्तो विकट उनको अनुहारमा

कसरी-कसरी चन्द्रमाले बास माग्यो

 

उनलाई याद छ-

सूर्यले बास मागेर छोडेको त्यो गोधूलि-साँझ

घोधूलिको क्षितिजमा डढेका उनका सपनाहरू

त्यसैले त आकाशतिर फर्किनै छाडेर

उज्यालोसँग नाता तोडेकी थिइन्- उनले

तर

ग्रहणपछिको यो रात

कुन सम्झनाको पदचापले हो कुन्नि ?

अकस्मात् उज्यालो भयो उनको अनुहार

 

बगिरहेको पानीमा

टल्किरह्यो- दुईथोपा जल

त्यो एकथोपा जूनको मुस्कान थियो

र अर्को थोपा उनको मुस्कान ।