म को हुँ ?

एउटा कालो छाया

मान्छेको आकृति लिएर

विना कुनै दिशाबोध

विना कुनै गन्तव्य

भौँतारिरहेछ, लक्ष्यविहीन चङ्गाजस्तै

विवशताले टुक्रिएको छ

वाध्यताले उठिरहेछ

यदाकदा

कौतुहलता देखापर्छ

फेरी शून्य छ

मौन छ ऊ

 

भनिन्छ

ऊ मान्छे होइन

ऊ मान्छेको बहुमतमा बाँचेको छैन

म मान्छे नभनिएको मान्छेलाई

नियाल्छु उत्सुकताले

मान्छेजस्तै हिँडिरहेको छ

बेकसुर आफैमा हराइरहेको छ

म उसलाई खोजिरहेछु

ऊ आफैलाई खोजिरहेछ

मैले उसलाई भेट्टाएपनि

थाहा छैन

उसले आफूलाई भेट्यो कि भेटेन ?

 

कहिले टढा, कहिले नजिक

ऊ वर्षौँदेखि मान्छेकै आँखामा घुमिरहेछ

सायद मान्छेका मुटुहरूमा

आफ्नो अपनत्व खोजिरहेछ

थाहाछैन के भेट्यो उसले

मान्छेहरू उसलाई

मान्छेको गन्तीमा राख्न रुचाउँदैनन्

तर ऊ मान्छेकै मुखाकृतिमा छ

मान्छेकै भावभङ्गीमा छ

म उसँग परिचय माग्छु

आफैलाई सोधिरहेछ-

म को हुँ ?