मात्र जलपजस्ता
सम्बन्धहरू
हिजोआज
मेरो सपनाको बोटमा
लाईझैँ छपक्कै टाँसिन आइपुग्छन्
रातोमा रातै
हरियोमा हरियै
सेतोमा सेतै – लाईकीराहरू
तिनका अनेक रङ्ग छन्
तिनका अनेक रूप छन्
मैले देखेको लाईकीरा
मात्र खरानी रङ्को थियो
र त्यसलाई झार्न
केवल खरानी भए पुग्थ्यो
वयसँगै
फेरिँदै गए दृश्यहरू पनि
म बटुलेर केलाइरहेछु
सागका मुठाझैँ
लाई लागेका सम्बन्धहरु
म छर्न सक्दिन खरानी
म छर्न सक्दिन विषादी
ती बर्सिरहन्छन् मेरो समयमाथि
मेरा खुसीका पत्र- पत्रमा
कोमलताका तह-तहमा
र
बेरिरहन्छन् एउटै पोको बनाएर
मेरा जिन्दगीका रहरहरू।