अन्तिम सत्य


 

यो बाटो, यात्रा र थकाइहरू !

 

अक्षरले उभ्याएका

अपत्यारिला, अजङ्ग पर्खालहरू बीच

नामेट तिमीले पठाएको अलिखित खबर

मात्र

सम्पूर्णताको महाशून्य

एक अन्तिम सत्य

 

अर्थहरूसँग डुबेर

भत्काइदिन चाहन्छु म

यी सन्त्रासयुक्त झोलुङ्गेपुलहरू

बालुवाका मनहरूबाट उधिनेर

भाव-स्वर्ण-कणले

उभ्याउन चाहन्छु

हृदयका पक्की पुलहरू

स्नीग्ध श्रृङ्खलामा आबद्ध

प्रतिविम्वित एक सजीव-ध्वनी

 

मेरो दैनिकीमा

तिम्रो सम्झनाबाहेक

त्यस्तो उल्लेख्य केही रहेन

पूरानो पाण्डुलिपिजस्तो

पल्टाउँदै, बन्द गर्दै

अनिच्छापूर्वक थुपारेको जीवन

अप्रकाशित प्रत्यक पानाहरू

भएर पनि नभएजस्तो

तिमीले सुनाएको अर्धसत्य-कविता

 

नामेट तिमीले पठाएका अलिखित खबर

मात्र

सम्पूर्णताको महाशून्य

एक अन्तिम सत्य