पर्खाइ


 

पर्खाइ कस्तो हुन्छ

के थाहा तिमिलाई ?

 

तिम्रो प्रतीक्षामा

मेरो मन कतिचोटी आँधी भयो

कतिचोटी वर्षात् भयो

न तिमी पहाड भएर उभियौ

न त बलियो किनार भएर आयौ

 

म बतास हुँदा तिमी सुवास हुनुपर्ने

म नदी हुँदा तिमी वेग हुनुपर्ने

खै ? कहाँ रोकियौ तिमी

कतै तिम्रो वेगलाई मेरो आवेगले त उछिनेन ?

 

हराएँ मैले मेरा उत्साह र उमङ्गहरू

थकाइको चौतारी बाँचेर जीवन

कुरिरहेँ तिम्रो बाटो

 

कति चाहनाहरू थुपारेर

अनगिन्ती आशाहरू बटुलेर

प्रतीक्षामा खुम्चिनुपर्दा

वस्त्रसँगै खच्याङ्-मच्याङ् भएको भए मन

विसङ्गत कल्पनाका पीडासँगै

गला अवरूद्द, आँखा टल्पलाएका भए यस्तै

तब पो थाहा हुँदो हो

प्रतीक्षा शब्दको मर्म तिमीलाई

 

आवाज आउँदा सियो खसाइको पनि

तिम्रै आगमनको आश लिएर

निराश हुनुपर्छ घरीघरी

मन उचाल्ने आवेगहरूले

केही शुभ केही अशुभ सोच्दै

आफैभित्र कुढिँदै-रुँदै गर्नुपरेको भए सायद

थाहा हुने थियो तिमीलाई

पर्खाइमा मैले सहेका अनगिन्ती पीडाहरू।