मूर्तिहरू



मान्छेका आँखामा घुरेर हेर्न

र मौका पाउनासाथ

सिनो-रयाल चुहाउने

छि !

कत्ति घिनलाग्दा मूर्तिहरू

 

भन्थ्यौ तिमी

मान्छेहरूले मन्दिरको बाटो बिराउनथाले

मूर्तिको पूजा गर्न छाडे

साँच्चै हो रहेछ !

मन्दिरै जान मन नलाग्ने गरी

आस्था उम्रनै नसक्ने गरी

कस्तोविध्न गजधुम्म परेका

मन्दिरै मन्दिरको देशमा

यी नयाँ अनुहारका मूर्तिहरू

 

मू्र्तिहरू,

मातले नुहाएर

सृष्टिलाई हाँक दिइरहेछन्

मूर्तिहरू,

रातको उन्मत्त उत्सवमा

मन्दिर भत्काएर

भट्टीको सौख पिइरहेछन्

प्रवेश निषेध गरेर समयलाई

 

एक्लै निलेका युगहरू

पचाउनै नसकेर

मूर्तिहरू

ब्रह्मनालमा कलियुग छादिरहेछन्

 

ए बलबाहु !

मन्दिरमात्र भत्किएनन् यहाँ

आस्थाहरू पनि भाँचिए

मूर्तिहरू पनि साँटिए

तिमी देश खोज्दै नाउनू

मन्दिरैमन्दिरको देशमा

यतिबेला

मूर्ति-कला फेरिएको छ।